मनी एण्ड फाइनान्स

अमेरिकामा क्रेडिट स्कोर कसरी सुधार्ने? (२०२६ को पूर्ण गाइड)

कल्पना गर्नुहोस्: तपाईं र तपाईंको साथी एउटै कार किन्न एउटै डिलरशिपमा जानुहुन्छ। दुबैले एउटै मोडेल र एउटै मूल्यको कार किन्ने विचार गर्नु भयो । तपाईंको क्रेडिट स्कोर बलियो छ, तर तपाईंको साथीको छैन।

त्यही एउटा तीन-अङ्कको संख्याका कारण, बैंकले तपाईंको साथीलाई ब्याजमा हरेक महिना $१०० बढी शुल्क लिन्छ। पाँच वर्षको ऋण अवधिमा, त्यो $६,००० अतिरिक्त हुन आउँछ—केवल कमजोर क्रेडिट प्रोफाइलको कारणले।

अमेरिकामा, तपाईंको क्रेडिट स्कोर नै तपाईंको आर्थिक प्रतिष्ठा हो। यसले ऋण मात्र होइन, भाडाको स्वीकृति, बीमा प्रिमियम, युटिलिटी डिपोजिट, र सेल-फोन योजनाहरूमा समेत प्रभाव पार्छ। राम्रो स्कोर हुनु भनेको गर्व गर्ने कुरा मात्र होइन—यो आफ्नो पैसा जोगाउने र कर्जाका लागि विश्वासनियता कायम गर्ने माध्यम हो।

अधिकांश ऋणदाताहरूले FICO model प्रयोग गर्छन्, जुन ३०० देखि ८५० सम्म हुन्छ।Experian का अनुसार, औसत अमेरिकी स्कोर हाल ७१५ को वरपर छ। त्यसोभए तपाईंको संख्याले वास्तवमा तपाईंको बारेमा के भन्छ त?

क्रेडिट स्कोरको दायरालाई सामान्यतया कसरी हेरिन्छ भन्ने विवरण तल दिइएको छ:

  • ८०० + (असाधारण): तपाईंले सबैभन्दा कम ब्याज दर र उत्कृष्ट सुविधाहरू पाउनुहुन्छ।
  • ७४० –७९९ (धेरै राम्रो): तपाईंलाई अत्यधिक भरपर्दो ऋणी मानिन्छ।
  • ६७० –७३९ (राम्रो): यो “सुरक्षित” क्षेत्र हो जहाँ अधिकांश मानिसहरू पर्छन्।
  • ५८० –६६९ (ठिकै): स्वीकृति सम्भव छ, तर अक्सर उच्च लागतमा।
  • ५८० भन्दा तल (खराब): ऋण, अपार्टमेन्ट, र क्रेडिट स्वीकृति पाउन गाह्रो हुन्छ।

गोप्य सुत्र: तपाईंको स्कोर कसरी गणना गरिन्छ?

तपाईंको क्रेडिट स्कोर हचुवाको भरमा हुँदैन—यो तपाईंको क्रेडिट रिपोर्ट  मा रहेका पाँच विशिष्ट कारकहरूमा आधारित हुन्छ:

  1. भुक्तानी इतिहास (३५%): सबैभन्दा महत्त्वपूर्ण कारक। एक पटकको ढिलो भुक्तानीले पनि तपाईंको स्कोर उल्लेख्य रूपमा घटाउन सक्छ।
  2. बाँकी रकम (३०%): यसले तपाईंको credit utilization ratio (३०%) लाई हेर्छ। यदि तपाईंको सीमा $५,००० छ भने, $१,५०० भन्दा कम प्रयोग गर्ने प्रयास गर्नुहोस्।
  3. क्रेडिटको उमेर (१५%): तपाईंको खाताहरू जति पुराना हुन्छन्, तपाईं उति नै “भरोसेमंद” देखिनुहुन्छ।
  4. क्रेडिट मिश्रण (१०%): घुम्ती क्रेडिट (कार्डहरू) र किस्ताबन्दी ऋण (कार, घर, विद्यार्थी ऋण) को स्वस्थ सन्तुलन।
  5. नयाँ क्रेडिट (१०%): छोटो समयभित्र धेरै क्रेडिट खाताहरूका लागि आवेदन दिँदा ऋणदाताहरूका लागि शंकास्पद हुन सक्छ र यसले तपाईंको स्कोरमा नकारात्मक असर पार्छ।

तपाईंको क्रेडिट स्कोर कसरी प्राप्त गर्ने?

आफ्नो क्रेडिट स्कोर प्राप्त गर्ने चार मुख्य तरिकाहरू छन्:

  • आफ्नो क्रेडिट वा ऋणको स्टेटमेन्टहरू जाँच गर्नुहोस्।
  • क्रेडिट वा हाउसिंग काउन्सिलरसँग कुरा गर्नुहोस्।
  • क्रेडिट स्कोर सेवा खोज्नुहोस्।
  • तीनवटा प्रमुख क्रेडिट रिपोर्टिङ एजेन्सीहरू– Equifax, Experian, वा TransUnion – मध्ये कुनै एकबाट आफ्नो स्कोर किन्नुहोस्। 

चरण १: साना गल्तीहरू सुधार्नुहोस्

आफ्नो नि:शुल्क क्रेडिट रिपोर्ट लिनुहोस्: AnnualCreditReport.com मा जानुहोस्—यो संघीय कानूनद्वारा अनुमति प्राप्त एकमात्र वेबसाइट हो जसले तीनवटै ब्युरो (Experian, Equifax, र TransUnion) बाट एकै ठाउँमा नि:शुल्क क्रेडिट रिपोर्ट प्रदान गर्दछ। हाल तपाईं साप्ताहिक रूपमा यो सुविधा लिन हकदार हुनुहुन्छ।

त्रुटिहरू ध्यानपूर्वक जाँच गर्नुहोस्। यी कुराहरू हेर्नुहोस्:

  • तपाईंले नचिनेका खाताहरू
  • गलत ब्यालेन्स (बाँकी रकम)
  • समयमै तिरिएका तर ढिलो देखाइएका भुक्तानीहरू

यदि तपाईंले कुनै त्रुटि फेला पार्नुभयो भने, तुरुन्तै उजुरी गर्नुहोस्। गल्तीहरू सुधार्नु नै स्कोर बढाउने सबैभन्दा छिटो तरिका हो। यदि मार्गदर्शन आवश्यक परेमा क्रेडिट वा हाउसिंग काउन्सलरसँग कुरा गर्नुहोस्।

चरण २: सेट गर्नुहोस् र बिर्सनुहोस्

न्यूनतम भुक्तानी स्वचालित (Automate) गर्नुहोस् कम्तिमा पनि न्यूनतम भुक्तानीको लागि ‘Auto-Pay’ सेट गर्नुहोस्। यो एक कदमले झुक्किएर हुने ढिलो भुक्तानीबाट तपाईंको स्कोरलाई जोगाउँछ। ब्याकअप रिमाइन्डर थप्नुहोस् प्रत्येक भुक्तानीको मिति भन्दा ३ दिन अगाडि फोन वा क्यालेन्डरमा अलर्ट राख्नुहोस्—यो एउटा सरल तर प्रभावकारी सुरक्षा कवच हो।

चरण ३: आफ्नो ब्यालेन्स रणनीतिक रूपमा व्यवस्थापन गर्नुहोस्

३०% को नियम पालना गर्नुहोस् आफ्नो क्रेडिट कार्डको ब्यालेन्स सीमाको ३०% भन्दा तल राख्नुहोस्—यो जति कम भयो, त्यति नै राम्रो। क्रेडिट-सीमा वृद्धिको अनुरोध गर्नुहोस् आफ्नो कार्ड जारीकर्तालाई फोन गरेर क्रेडिट सीमा बढाउन भन्नुहोस्। महत्त्वपूर्ण: खर्च नबढाउनुहोस्। उच्च सीमाले तपाईंको ‘utilization ratio’ मा सुधार ल्याउँछ, जुन पूर्णतया नि:शुल्क हुन्छ।

चरण ४: आफ्नो क्रेडिट इतिहास सुरक्षित राख्नुहोस्

पुराना खाताहरू बन्द नगर्नुहोस् यदि तपाईंले आफ्नो पहिलो क्रेडिट कार्ड प्रयोग गर्न छोड्नुभएको छ भने पनि, त्यसलाई खुला राख्दा क्रेडिटको उमेर कायम राख्न मद्दत पुग्छ। मेडिकल ऋणका अपडेटहरू जाँच गर्नुहोस् ।Consumer Financial Protection Bureau को हालैको निर्देशन अनुसार, $५०० मुनिका अधिकांश मेडिकल ऋणहरू अब क्रेडिट रिपोर्टमा देखिनु हुँदैन। तपाईंको रिपोर्टमा यो परिवर्तन झल्किन्छ कि देखिँदैन, सुनिश्चित गर्नुहोस्।

तपाईंको क्रेडिट स्कोरले तपाईं को हो भनेर परिभाषित गर्दैन—तर यसले अमेरिकाको वित्तीय प्रणालीमा तपाईंलाई जताततै पछ्याउँछ। खुसीको कुरा के हो भने, यो ती थोरै वित्तीय सूचकहरू मध्ये एक हो जसलाई तपाईं निरन्तर र सामान्य बानीहरू मार्फत सक्रिय रूपमा सुधार गर्न सक्नुहुन्छ।

स-साना कार्यहरू—समयमै भुक्तानी, कम ब्यालेन्स, र नियमित समीक्षा—समयसँगै थपिँदै जान्छन्। र २०२६ को मानक अनुसार, बलियो क्रेडिट निर्माण गर्ने सन्दर्भमा अनुशासनले आम्दानीलाई माथ दिन्छ।

Write A Comment