केस स्टडी

फोर्ट वर्थ स्टकयार्ड्स: गाईवस्तु व्यापार केन्द्रदेखि पर्यटन गन्तब्यसम्म

हरेक बिहान र दिउँसो, टेक्सस लङ्गहर्न्सको एउटा सानो बथान फोर्ट वर्थको स्टक एक्सचेञ्ज एभेन्युमा इँटाले बनेका गोदाम घर र स्मार्टफोन आफूतिर तेर्सिरहेका आगन्तुकहरूलाई पार गर्दै अघि बढ्छ । यो ‘क्याटल ड्राइभ’ करिब १५ मिनेट चल्छ। यो दृश्य पर्यटकहरुका लागि रमाइलो त छदै छ, यसभित्र  एक शताब्दीभन्दा लामो आर्थिक इतिहास पनि लुकेको छ । 

वर्षमा करिब ११ मिलियन आगन्तुकहरूलाई आकर्षित गर्ने फोर्ट वर्थ स्टकयार्ड्स  गर्दछ। यसलाई टेक्ससको सबैभन्दा व्यस्त ऐतिहासिक क्षेत्रहरू मध्ये एक बनाएको छ । यो एक वर्ग माइलको क्षेत्र कुनै समय विश्वकै सबैभन्दा परिष्कृत पशु बजारहरू मध्ये एक थियो ।

फोर्टवर्थको भाग्य यसरी चम्कियो 

फोर्ट वर्थको व्यावसायिक भाग्य सन् १८७६ मा बदलियो जब Texas & Pacific Railway त्यहाँ आइपुग्यो । पहिले एउटा सानो सैन्य चौकी र Chisholm Trail को अन्तिम बिसौनी रहेको यो ठाउँ राष्ट्रिय बजारहरूसँग जोडिएको स्थायी व्यापारिक केन्द्र बन्यो । सन् १८६६ र १८९० को बीचमा, क्यान्ससका रेलमार्गहरूतर्फ जाने क्रममा      ४ मिलियनभन्दा बढी पशुहरू यस शहर भएर गए, जसले गर्दा यसले ‘काउटाउन’ भन्ने उपनाम पायो ।

रेलको पहुँचले ठूला पूर्वाधार निर्माण सम्भव बनायो र सन् १८८७ मा शहरले युनियन स्टकयार्ड्स स्थापना गर्‍यो । सन् १८९३ मा बोस्टनका फाइनान्सर ग्रीनलीफ डब्लु. सिम्पसनले यसलाई करिब $१३३,३३३ मा खरिद गरी ‘फोर्ट वर्थ स्टकयार्ड्स कम्पनी’ को रूपमा पुनर्गठन गरे । उनले जीवित पशुहरूलाई अन्यत्र पठाउनुको सट्टा मासु प्याकिङ गर्नेहरूलाई नै फोर्ट वर्थमा ल्याउने निर्णय गरे ।

एउटा सिक्काको टस जसले उद्योग खडा गर्‍यो

सन् १९०० सम्ममा, देशका दुई ठूला मासु प्याकरहरू—आर्मर एन्ड कम्पनीस्विफ्ट एन्ड कम्पनी —त्यहाँ प्लान्टहरू बनाउन सहमत भए । जग्गाको विवाद मिलाउन एउटा सिक्का टस गरियो: आर्मरले उत्तरी भाग पायो भने स्विफ्टले दक्षिणी भाग लियो ।

यसको आर्थिक प्रभाव तुरुन्तै देखियो र एक दशकभित्रै फोर्ट वर्थको जनसंख्या तीन गुणा बढ्यो । सन् १९०७ सम्ममा स्टकयार्ड्सले वार्षिक १० लाख गाईवस्तु बिक्री गरिरहेको थियो । पहिलो विश्वयुद्धको समयमा, यो विश्वकै सबैभन्दा ठूलो घोडा र खच्चरको बजार बन्यो ।

बजारभन्दा बढी: एक वित्तीय संरचना

स्टकयार्ड्सको इतिहास केवल पशुहरूको संकलनमा मात्र सीमित थिएन। केवल एउटा गोठ मात्र नभई वस्तु विनिमय केन्द्र जस्तै थियो । सन् १९०३ मा निर्मित ‘लाइभस्टक एक्स चेञ्ज बिल्डिंग’ तत्कालीन समयको एक अत्याधुनिक व्यापारिक मुख्यालय थियो। यस भवनको पर्खालभित्र रेल एजेन्टहरूले ढुवानीको तालिका मिलाउँथे, टेलिग्राफ अपरेटरहरूले शिकागो र लण्डनका बजारहरूसँग मूल्यको मोलतोल गर्थे, र बैंकहरूले लाखौँ डलरको कारोबारलाई तत्कालै राफसाफ गर्थे। यो एक यस्तो एकीकृत आर्थिक केन्द्र थियो जहाँ पशुपालकहरूले आफ्ना गाईवस्तु बेचेर प्राप्त गरेको रकम त्यहीँका बैंकमा जम्मा गर्न र अर्को यात्राका लागि बीमा गर्न सक्थे। फोर्ट वर्थमा तय हुने मूल्यले एटलान्टिक महासागर पारिको भान्छासम्म प्रभाव पार्थ्यो, जसले यसलाई “पश्चिमको वाल स्ट्रिट” को उपनाम दिलाएको थियो।

संकट र सुनसानका दशकहरू 

दोस्रो विश्वयुद्धको समयमा यो क्षेत्र आफ्नो चरम उत्कर्षमा पुग्यो। सन् १९४४ मा एकै वर्ष ५० लाखभन्दा बढी पशुहरूको प्रशोधन गरेर यसले युद्धकालीन खाद्यान्न आपूर्तिमा ऐतिहासिक योगदान दियो। तर, विकासको गतिले नै यसको पतनको जग बसाल्यो। युद्धपछि अमेरिकामा अन्तरराज्य राजमार्गहरूको सञ्जाल विस्तार भयो, जसले रेलको एकाधिकार अन्त्य गरिदियो। ट्रकहरूले पशुहरूलाई सिधै साना र विकेन्द्रित बजारहरूमा पुर्‍याउन थालेपछि स्टकयार्ड्सका भीमकाय प्याकिङ प्लान्टहरू रित्तिन थाले। सन् १९७१ सम्ममा आर्मर र स्विफ्टजस्ता औद्योगिक खम्बाहरू ढले र यो ऐतिहासिक जिल्ला एउटा विस्मृत भग्नावशेष जस्तै बन्यो। सन् १९७६ मा यसलाई राष्ट्रिय ऐतिहासिक जिल्ला  घोषणा गरिनु केवल एउटा कागजी सम्मान मात्र थियो।   यसको आर्थिक भविष्य त अझै अन्योलमै थियो।

सम्पदाको रूपमा पुनरागमन 

सन् १९०० को सुरुवाततिर फोर्ट वर्थ स्टकयार्ड्सको हावामा गोबर, धुलो र रगतको गन्ध हुन्थ्यो। आज त्यही हावामा महँगो अत्तर र ‘लेदर’ को सुगन्ध मिसिएको छ। यो रूपान्तरण केवल एउटा शहरको सजावट मात्र होइन, बल्कि यो एउटा यस्तो वित्तीय संरचनाको पुनर्जन्म हो जसले कुनै समय विश्वको मासु बजारलाई नियन्त्रण गर्थ्यो र आज विश्व पर्यटनको नयाँ मानक खडा गरिरहेको छ।

स्टकयार्ड्सको वास्तविक पुनरागमन तब सुरु भयो जब शहरले यसको ‘इतिहास’ लाई नै उत्पादनको रूपमा बेच्ने साहसिक निर्णय गर्‍यो। करिब $५०० मिलियनको डलरको विशाल पुनर्विकास परियोजनाले पुराना र जीर्ण संरचनाहरूलाई विलासी पर्यटकीय गन्तव्यमा बदल्यो। पहिले खच्चरहरू बाँधिने ‘म्युल एली’ (Mule Alley) अहिले विश्वप्रसिद्ध ब्रान्डका पसल र आधुनिक रेस्टुरेन्टहरूको हब बनेको छ। सन् २०२१ मा सन् २०२१ मा ‘होटल ड्रोभर’को उद्घाटनले यस क्षेत्रमा ‘काउ ब्बय लक्जरी’ को नयाँ आकर्षण थपिदियो, जहाँ ग्रामीण पहिचान र शहरी विलासिताको अभूतपूर्व ‘फ्युजन’ देख्न सकिन्छ।

पर्यटनको आकर्षण केन्द्र 

यो रूपान्तरणको नतिजा अहिले तथ्याङ्कहरूमा छर्लङ्ग देखिन्छ। ‘भिजिट फोर्ट वर्थ’ को प्रतिवेदन अनुसार, सन् २०२४ मा पर्यटनले शहरको अर्थतन्त्रमा ३.५ बिलियन डलरभन्दा बढीको योगदान पुर्‍याएको छ। वार्षिक ९० लाखभन्दा बढी पर्यटकहरू अहिले त्यही सडकमा हिँड्छन् जहाँ कुनै समय लाखौँ गाईवस्तुहरू धपाइन्थ्यो। हिजो ‘मासु’ को व्यापार गरेर बाँचेको यो क्षेत्र आज आफ्नो ‘कथा’ र ‘सम्पदा’ देखाएर पर्यटनको प्रमुख गन्तब्य बनेको छ। यो कथा केवल एउटा बजारको पुनरुत्थानको मात्र होइन, यो परिवर्तनशील समयसँगै आफ्नो अस्तित्वलाई नयाँ ढंगले परिभाषित गर्ने एक सफल वित्तीय प्रयोगको पनि हो।

आज पनि हरेक दिन बिहान ११:३० र दिउँसो ४ बजे फोर्ट वोर्थ हर्डले ‘इस्ट एक्सचेन्ज एभिन्यू’मा यात्रा गर्छ । यसरी दिनमा दुई पटक हुने यस्तो ‘क्याटल ड्राइभ’ हुने यो विश्वकै एक मात्र सहर हो । ‘लाइभस्टक एक्स चेञ्ज बिल्डिंग’ भित्र अझै पनि हप्तामा एक पटक स्याटेलाइट भिडियोमार्फत गाईवस्तुको लिलामी हुन्छ । यो एक वर्ग माइलको क्षेत्रले पहिले विश्वव्यापी गाईवस्तु अर्थतन्त्रलाई आकार दिएको थियो भने आज यसले संस्कृति, सम्झना र पर्यटनमार्फत अरबौंको आम्दानी गरिरहेको छ ।

Write A Comment