अर्थतन्त्र

तलब बढे पनि किन घर व्यवहार चलाउन मुश्किल भैरहेको छ ?

अर्थ जर्नल 

तपाईंको मेहेनत अनुसार पछिल्ला केही वर्षहरूमा तलब त बढ्यो होला, तर कहिलेकाहीँ सोच्नुभएको छ—खल्तीमा पैसा धेरै भएर पनि घर खर्च चलाउन किन पहिलेभन्दा झन् धेरै धौ-धौ परिरहेको छ?

यसको मुख्य कारण भनेको महँगी (Inflation) हो। मानौँ, तपाईंको तलब यो वर्ष १०% ले बढ्यो, तर बजारमा चामल, तेल, तरकारी र कोठा भाडा १५% ले बढिसक्यो भने, तपाईंको हातमा थप पैसा आए पनि त्यसको खरिद शक्ति (Purchasing Power) उल्टै घटेको हुन्छ। वास्तवमा, तपाईं पहिलेको भन्दा धनी हुनुभएको होइन, बरु महँगीसँग दौडिन मात्र खोजिरहनुभएको छ।

ठूलो पे-चेक (तलब) हातमा पर्दा खुसी त मिल्छ, तर त्यो खुसी बैंकको खातामा पुग्न नपाउँदै खर्चका विभिन्न शीर्षकहरूमा बिलाएर जान्छ। आखिर किन हामी जति कमाए पनि सधैं आर्थिक दबाबमै बाँचिरहेका छौं?

बजारको महँगीले आकाश छोएको छ। कोठा भाडा वा घरको घर कर्जाको मासिक किस्ता पनि बढेकै छ। बिमाको किस्ताले टाउको दुखाउँछ, र छोराछोरीको भविष्यका लागि गरिने लगानी (चाइल्ड केयर) धान्नै नसकिने गरी बढेको छ। लाखौँ मानिसहरूका लागि आजको समयमा ‘बढ्दो तलब’को अर्थ आर्थिक सफलता होइन, बरु केवल एउटा यस्तो दौड भएको छ जहाँ जति छिटो कुदे पनि महँगीले उछिन्ने डर सधैं रहिरहन्छ।

कागजी रूपमा, अमेरिकी कामदारहरूले राम्रो गरिरहेका छन्। हालका वर्षहरूमा तलब लगातार बढेको छ, र सन् २०२३ र २०२४ को केही समयका लागि, लामो समयपछि पहिलो पटक नाममात्रको तलब वृद्धिले मुद्रास्फीतिलाई उछिनेको थियो। तैपनि एउटा निरन्तर, बिझाउने प्रश्न सतहमा आइरहन्छ: किन यस्तो महसुस हुँदैन त?

यसको जवाफ मानिसहरूले अनुमान गरे जस्तो व्यक्तिगत खर्च गर्ने बानीसँग कम, र सबैभन्दा छिटो बढेका विशिष्ट लागतहरूसँग बढी सम्बन्धित छ। आवास, स्वास्थ्य सेवा र बालबालिकाको हेरचाह—यी सबैको मूल्य वर्षौंदेखि तलबभन्दा धेरै माथि पुगेको छ। यी सबै मिलेर तलबले दिने भनिएको लाभलाई चुपचाप खाइदिएका छन्।

तपाईंको पे-चेक र क्रयशक्तिबीचको खाडल

अर्थशास्त्रीहरू दुईवटा महत्त्वपूर्ण अवधारणाहरू बीच भिन्नता देखाउँछन्: नाममात्रको तलब (Nominal wages)—जुन तपाईंको पे-स्टबमा लेखिएको अंक हो—र वास्तविक तलब (Real wages), जुन त्यो अंकले वास्तवमा के किन्न सक्छ भन्ने जनाउँछ । त्यो खाडल नै समस्याको जड हो।

U.S. Bureau of Labor Statistics का अनुसार, डिसेम्बर २०२५ देखि जनवरी २०२६ सम्म मुद्रास्फीति समायोजन गरेपछि वास्तविक औसत प्रति घण्टा आम्दानी मात्र ०.३% ले बढेको छ। र लामो अवधिको USAFacts analysis of BLS data ले यो खाडललाई अझ प्रष्ट पार्छ: सन् २००६ देखि, नाममात्रको साप्ताहिक तलब ८६% ले बढ्यो, तर वास्तविक क्रयशक्ति मात्र करिब १४ % ले बढ्यो। नाममात्रको लाभ साप्ताहिक $५९० थियो भने वास्तविक लाभ मात्र $१५९ थियो।

आम्दानी र महंगी पनि स्थान अनुसार फरक हुन्छ। Federal Reserve Bank of St. Louis को एक अध्ययनले के पत्ता लगाएको छ भने सन् २०१९ र २०२४ को बीचमा सान फ्रान्सिस्को सहरमा वास्तविक तलब १९ प्रतिशतले बढे पनि फिलाडेल्फिया र एटलान्टा जस्ता सहरका कामदारहरूले उही अवधिमा बढेको तलबले महंगीको दरलाई भेट्टाउन सकेन।  अर्थात् तलब-ज्याला बढे पनि उनीहरुले आफ्नो क्रयशक्ति गुमाए।  किनकी यी शहरका कामदारको तलब नाममात्रले बढिरहेको थियो। यसकारण राष्ट्रिय औसतले धेरै कुराहरू लुकाउँछ।

खर्च बढ्ने मुख्य तीन कारणहरू

आवास (Housing)

कोठा भाडाको वृद्धिले लगभग सबैतिर तलब वृद्धिलाई उछिनेको छ।Zillow को संयुक्त विश्लेषणले सन् २०१९ र २०२३ को बीचमा अमेरिकी भाडा करिब ३०% ले बढेको देखाएको छ, जबकि सोही अवधिमा तलब मात्र २०% ले बढेको छ। पचास ठूला महानगर क्षेत्रहरू मध्ये ४४ वटामा भाडा तलबभन्दा छिटो बढ्यो। न्युयोर्क सहरमा २०२२-२३ मा, तलब करिब १% ले बढ्दा माग गरिएको भाडा भने त्यो भन्दा सात गुणा बढी दरले बढेको थियो।

Consumer price index data ले २०१५ र २०२५ को बीचमा प्राथमिक निवासको भाडा (CPI) ५४% ले बढेको देखाउँछ—जुन प्रति वर्ष औसतमा करिब ५.४% हो। धेरै भाडामा बस्नेहरूका लागि, प्रत्येक पटक सम्झौता नवीकरण गर्दा उनीहरूले त्यस वर्ष प्राप्त गरेको तलब वृद्धिको ठूलो हिस्सा चुपचाप काटिने गरेको छ।

स्वास्थ्य सेवा (Healthcare)

रोजगारदाताले प्रायोजन गर्ने स्वास्थ्य बीमाको लागत घरायसी वित्तमा ठूलो बोझ बनेको छ। सन् २०२५ को KFF Employer Health Benefits Survey ले औसत पारिवारिक प्रिमियम अहिले प्रति वर्ष $२६,९९३ पुगेको र कामदारहरूले त्यसको औसत $६,८५० आफैं बेहोर्नुपर्ने देखाएको छ। सन् २०२४ को KFF सर्वेक्षणले पारिवारिक प्रिमियम २०२३ र २०२४ दुबै वर्ष ७% ले बढेको उल्लेख गरेको छ—जुन २०११ पछिको सबैभन्दा ठूलो लगातार वार्षिक वृद्धि हो। विगत १० वर्षमा पारिवारिक प्रिमियम ४७% ले बढेको छ, जबकि तलब ४२% र सामान्य मुद्रास्फीति ३०% ले मात्र बढेको छ।

स्वास्थ्य सेवाको बिल यति जटिल र महँगो छ कि एउटै बिरामीले वर्षौँको बचत सिध्याइदिन्छ।अमेरिकामा बिमा भए पनि पकेटबाट तिर्नु पर्ने को-पे पनि महँगो छ।  बिमा (Insurance) हुनुको अर्थ “सबै खर्च नि:शुल्क हुनु” होइन। बिमा कम्पनीले खर्च बेहोर्नु भन्दा पहिले तपाईँले आफैँले निश्चित रकम तिर्नुपर्ने हुन्छ (जस्तै: वार्षिक $२,००० वा $५,०००)। यो रकम नपुगुन्जेल अस्पतालको बिल तपाईँकै खल्तीबाट जान्छ।यस्तै डाक्टरकहाँ जाँदा वा औषधि किन्दा तिर्नुपर्ने निश्चित शुल्क (को-पे) जुन हरेक पटक प्राय: $२० वा $५० पर्न आउछ।अनि, मेडिकल बिलको केही प्रतिशत (जस्तै: २०%) तपाईँले तिर्नुपर्ने र बाँकी ८०% बिमाले तिर्ने नियम छ । 

ठूलो अप्रेसन भयो भने यो २०% ले मात्रै पनि हजारौँ डलर तिर्न पर्ने हुनसक्छ।धेरैजसो बिमामा एक वर्षमा तपाईँले बढीमा कति तिर्ने भन्ने सीमा हुन्छ। तर, त्यो सीमा (Limit) प्रायः $८,००० देखि $९,००० सम्म हुन सक्छ। एक सामान्य मध्यम वर्गीय परिवारका लागि एकै वर्षमा ९ हजार डलर थप खर्च हुनु भनेको उनीहरूको वर्षौँको बचत रित्तिनु सरह हो।अझ झुक्किएर वा नजिक डाक्टर नभएर तपाईँले आफ्नो बिमाले नचिन्ने (Out-of-network) क डाक्टर वा ल्याबमा सेवा लिनुभयो भने, बिमा कम्पनीले एक पैसा पनि दिँदैन। सबै बिल तपाईँकै टाउकोमा आउँछ।

बालबालिकाको हेरचाह (Childcare)

अमेरिकामा काममा जानको लागि सुरक्षित र भरपर्दो ‘डे-केयर’ वा बच्चा हेर्ने मान्छे अनिवार्य आवश्यकता हो, तर यसको खर्च अहिले मध्यमवर्गीय परिवारका लागि धान्नै नसकिने गरी आकासिएको छ। Child Care Aware of America को हालैको प्रतिवेदन अनुसार, अमेरिकाका धेरै राज्यहरूमा एउटा बच्चाको वार्षिक हेरचाह शुल्क $१०,००० देखि $१५,००० सम्म पुग्ने गर्दछ, जुन कतिपय अवस्थामा घरको ‘मोर्गेज’ वा कलेजको ट्युसन फी भन्दा पनि बढी छ। विशेषगरी कम वा मध्यम आय भएका आमाबाबुका लागि त बच्चा हेर्न तिर्नुपर्ने शुल्क र उनीहरूले काम गरेर ल्याउने ‘नेट पे’ (कर पछिको तलब) लगभग बराबर हुन जान्छ। यसले गर्दा धेरै अभिभावकहरू, खासगरी महिलाहरू, काममा जानुको सट्टा घरमै बस्न बाध्य छन्, किनकि उनीहरूको सम्पूर्ण कमाई केवल बच्चाको हेरचाह शुल्क तिर्दैमा सकिन्छ।काम गर्ने अभिभावकहरूका लागि बालबालिकाको हेरचाह दोस्रो कोठा भाडा जस्तै भएको छ। 

अर्को एउटा सर्वेक्षण अनुसार परिवारहरूले आफ्नो आम्दानीको औसत २४% बालबालिकाको हेरचाहमा खर्च गर्छन्। संघीय सरकारले आम्दानीको ७% भन्दा बढी नहुने खर्चलाई मात्र ‘किफायती’ बालबालिकाको हेरचाह मान्दछ—जुन मापदण्डमा कुनै पनि औसत परिवार पुग्न सक्दैनन्। Fortune मा प्रकाशित एक विश्लेषण अनुसार, दुई साना छोराछोरी भएको परिवारले त्यो ७% को लक्ष्य भेट्न करिब $४०२,००० आम्दानी गर्नुपर्ने हुन्छ। जबकि दुई सन्तान भएका औसत परिवारले करिब $१४५,००० मात्र कमाउँछन्। Center for American Progress को विश्लेषणले अनुमान गरे अनुसार बालबालिकाको हेरचाह खर्चले प्रत्येक वर्ष करिब १३४,००० परिवारलाई गरिबीतर्फ धकेलिरहेको छ।

किन समाचारका हेडलाइन र वास्तविकता मिल्दैनन्?

जब अर्थशास्त्री र नीति निर्माताहरूले बलियो तलब वृद्धिको कुरा गर्छन्, उनीहरूले प्रायः राष्ट्रिय औसतलाई हेरिरहेका हुन्छन्। तर औसतले क्षेत्रीय र जनसांख्यिकीय भिन्नताहरूलाई समेट्न सक्दैन जसले मानिसहरूको वास्तविक जीवनलाई आकार दिन्छ। महँगो सहरमा बस्ने कामदार, एकल आम्दानी भएका घरपरिवार र साना बालबालिका भएका परिवारहरूले यस्तो दबाबको सामना गर्छन् जसलाई सामूहिक तथ्यांकले समात्न सक्दैन।

यसमा अर्को समस्या पनि छ। त्यो हो समय। जब भाडा, बीमा, डेकेयरजस्ता निश्चित खर्च अघिल्लो वर्ष नै बढी सकेको हुन्छ, अर्को वर्ष बढ्ने तलबले त्यसमा सन्तुलन ल्याउन सक्दैन। तलब बढुन्जेल घरपरिवारले पहिले नै त्यो भार बेहोरिसकेको हुन्छ। दुई वर्षको बढेको भाडापछि बढेको तलब वृद्धि साँन्चिक्कै ‘वृद्धि’ भएको महसुस हुँदैन; यो केवल पानीमा डुब्नबाट बच्न हातखुट्टा चलाए जस्तो मात्र लाग्छ।

धेरैलाई लाग्छ कि पैसा नजोगिनुको कारण “खर्चालु बानी” वा “बजेट बनाउन नजान्नु” मात्र हो। खल्तीमा पैसा नटिक्नु वा आर्थिक दबाब महसुस हुनु केवल तपाईंको खराब खर्च गर्ने बानी मात्र होइन; यो त आकाशिएको महँगी र कमजोर नीतिगत संरचनाको उपज हो। व्यक्तिगत तहमा बजेट बनाएर वा मितव्ययी बनेर मात्र यो खाडल पुर्न सम्भव छैन। यसका लागि आवास, स्वास्थ्य सेवा र बाल-हेरचाह जस्ता आधारभूत क्षेत्रमा संरचनात्मक सुधार आवश्यक छ।विशेषगरी स्थानीय, राज्य र संघीय सरकारले मध्यम वर्गीय नागरिकको यो मर्कालाई मनन गर्दै राहतमुखी नीति र कार्यक्रमहरू ल्याउनु आजको आवश्यकता हो। 

यद्यपि, वृहत् नीतिगत परिवर्तन नभएसम्म, हामीले व्यक्तिगत स्तरमा आम्दानीका स्रोतहरू बढाउने र अत्यावश्यक खर्चहरूको सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयास जारी राख्नुपर्छ। वार्षिक रूपमा स्वास्थ्य सेवा विकल्पहरूको समीक्षा गर्ने, बालबालिका हेरचाहमा पाइने ट्याक्स क्रेडिटहरू बुझ्ने र खर्च बढ्नु अघि नै बचत गर्ने जस्ता कार्यहरू व्यवहारिक कदम हुन सक्छन्। सरकारको उचित सम्बोधन र नागरिकको सचेत आर्थिक व्यवस्थापनले मात्र यो आर्थिक संकटबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ।

Write A Comment