चैत ७, २०८२
काठमाडौँ — गत फागुन २१ गते (मार्च ५) सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेसँगै ३५ वर्षीय इन्जिनियर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्ने निश्चित भएको छ। शाहले झापा क्षेत्र नं ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका थिए। आयुर्वेदिक डाक्टरक छोरा उनि र्यापर र काठमाडौंका पूर्व मेयर पनि हुन्।
तस्बिर: बालेन/फेसबुक
रास्वपाले २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिटसहित ‘दुई-तिहाइ’ निकटको स्पष्ट बहुमत प्राप्त गरेको छ। तीन वर्ष अघि मात्र गठन भएको रास्वपाले नेपाली राजनीतिमा ‘परम्परागत गढ’ भत्काउन सफल भएको छ।
यो निर्वाचन केवल मतपत्रको गणना मात्र थिएन, यो त गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ विद्रोहको परिणाम थियो। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि चर्किएको ‘जेन-जी’ आन्दोलनमा ७७ जनाले शहादत प्राप्त गरेका थिए। करिब ८४ अर्ब रुपैयाँको आर्थिक क्षति बेहोरेको सो विद्रोहले अन्ततः पुरानो सत्ताको जग हल्लाइदिएको थियो।
बालेन शाहप्रति नेपाली जनताको ठुलो आशा छ। तर चुनौती पनि उतिक्कै छ । झण्डै दुई-तिहाइ बहुमत प्राप्त सरकारका लागि अब कुनै ‘बहानामा’ जनताका समस्यालाई बेवास्ता गर्ने ठाउँ रहने छैन। नयाँ सरकारले मुख्य तीन एजेन्डाहरू प्राथमिकतामा राखेर काम गर्नु पर्ने छ। पहिलो हो, प्रशासनिक चुहावट र भ्रष्टाचार नियन्त्रण। बालेन सरकारको पहिलो परीक्षा कर्मचारीतन्त्रमा रहेको ‘सेटिङ’ भत्काउनु र सरकारी सेवालाई पूर्णतः डिजिटल र पारदर्शी बनाउनु हुनेछ। यस्तै, स्वदेशमै रोजगारी र पुँजी निर्माण सरकारको चुनौती हो ।

तस्बिर: एआईद्वारा सिर्जित
वार्षिक लाखौँको सङ्ख्यामा विदेश पलायन भइरहेका युवाहरूलाई रोक्न कृषि, सूचना प्रविधि र साना उद्योगमा ठूलो लगानी भित्र्याउनु पर्नेछ। “नेपाललाई हाँसेको देख्न चाहन्छु” भन्ने उनको साङ्गीतिक नारालाई अब औद्योगिक उत्पादन र निर्यातमा बदल्नुपर्ने दबाब छ। तेस्रो चुनौती हुनेछ- भू-राजनीतिक र वैदेशिक सम्बन्ध। खासगरि दुइ छिमेकी भारत र चीनसंग सन्तुलित सम्बन्ध राख्दै मुलुकको हितमा काम गर्नु चुनौतीपूर्ण छ।
बालेनको नेतृत्वमा स्थिर सरकार बन्ने सुनिश्चिततासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक हलचल देखिएको छ। लगानीकर्ताहरूले नयाँ सरकारले पुँजी बजारको सुधार र मौद्रिक नीतिमा लचिलोपन ल्याउने अपेक्षा गरेका छन्।
