अर्थ जर्नल
नेपालले ३५ वर्षे युवकलाई देशको प्रमुख कार्यकारीका रूपमा पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसो १२:३४ बजेको साइतमा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
सपथग्रहण कार्यक्रममा ७ वटा शंख बजाइएको थियो भने १०८ बटुकबाट स्वस्ति शान्ति वचन गरिएको थियो। यस्तै १६ बौद्ध भिक्षुबाट अष्ठ मंगल पाठ गरिएको थियो।
रास्वपाले शाहलाई बिहिबार संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री हुने बाटो खुलेको थियो। शाहलाई संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। पन्ध्र सदस्यीय मन्त्री मण्डलमा पाँच जना अर्थात ३३ प्रतिशत महिला छन्। नियुक्त सबै मन्त्रीहरुले शुक्रबार नै सपथ लिए।
को-को मन्त्री बने ?

- बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा र उद्योग
- स्वर्णिम वाग्ले – अर्थ
- सुधन गुरुङ – गृह
- शिशिर खनाल – पररास्ट्र
- सुनिल लम्साल – भौतिक पूर्वाधार
- बिराजभक्त श्रेष्ठ – ऊर्जा
- खडकराज पौडेल (गनेश)- पर्यटन
- सोबिता गौतम – कानुन
- निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
- प्रतिभा रावल – सामान्य प्रशासन
- सस्मित पोखरेल – शिक्षा, बिज्ञान तथा प्रविधी र युवा तथा खेलकुद
- विक्रम तिमिल्सिना – सूचना तथा संचार
- दिपक साह – श्रम
- गीता चौधरी – कृषि
- सीता बादी – महिला तथा बालबालिका
यसअघि बिहीबार सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीबाट पद तथा गोपिनियताको सपथ लिएका थिए। गत फागुन २१ गते (मार्च ५) सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेसँगै शाह देशको प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरेका हुन्। शाहले झापा क्षेत्र नं ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका थिए।
को हुन् प्रधानमन्त्री शाह ?
बालेन्द्र शाहको जन्म १९९० मा काठमाडौँको नरदेवीमा भएको थियो। उनका बुवा राम नारायण शाह, सरकारी आयुर्वेदिक चिकित्सक थिए, र माता ध्रुवदेवी शाहका सन्तान हुन्। उनको परिवारको पुर्ख्यौली घर मधेश प्रदेशको महोत्तरी जिल्लामा पर्छ । बालेनले सन् २०१८ मा सविना काफ्लेसँग विवाह गरेका हुन्, जो पेसाले जनस्वास्थ्य विज्ञ र साहित्यकार हुन् । उनीहरुका एक सन्तान छन्।

बालेनले काठमाडौँकोहिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक (BE) गरेका हुन्। त्यसपछि उनले भारतको कर्नाटकस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हासिल गरे। हाल उनी काठमाडौँ विश्वविद्यालयमा नेवा: सम्पदा संरचनाहरूको संरक्षण विषयमा विद्यावारिधि गर्दैछन् ।
राजनीतिमा आउनुअघि बालेन नेपालको हिपहप क्षेत्रमा एक स्थापित र्यापर थिए। उनले सन् २०१३ मा Raw Barz’ र्याप ब्याटल मार्फत लोकप्रियता कमाएका थिए। प्रधानमन्त्रीमा नियूक्त हुनु एक दिनअघि मात्र उनले नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक गरे, जुन रिलिज भएको १२ घण्टाभित्रमा २० लाख भ्युज पुगिसकेको छ।

पेशाले इन्जिनियर रहेका उनले सन् २०२२ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा जितेर इतिहास रचे।
सन् २०२६ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएपछि उनी र रास्वपाको पक्षमा जना लहर उर्लिएको थियो। परिणाम स्वरूप उनको पार्टी रास्वपाले २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिटसहित ‘दुई-तिहाइ’ निकटको स्पष्ट बहुमत प्राप्त गरेको थियो। तीन वर्ष अघि मात्र गठन भएको रास्वपाले नेपाली राजनीतिमा ‘परम्परागत गढ’ भत्काउन सफल भएको छ।

निर्बाचन गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ विद्रोहको पृष्ठभुमीमा भएको हो। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि चर्किएको ‘जेन-जी’ आन्दोलनमा ७७ जनाले शहादत प्राप्त गरेका थिए। करिब ८४ अर्ब रुपैयाँको आर्थिक क्षति बेहोरेको सो विद्रोहले अन्ततः पुरानो सत्ताको जग हल्लाइदिएको थियो।
